top of page
Search
  • Writer's picturePrakritee Dahal

जे हुन्छ राम्रोको लागि हुन्छ


म काठमाडौं आएको पनि पाँच बर्ष पुगेछ । कोरोना भाइरस फैलनु दुई महिना अघि मेरो जर्मनी जाने सपना भिजा नलागेको कारण सपनामै सिमित भयो । कक्षा १२ को परिक्षा सकिने बित्तिकै एकाएक बिदेश जाने सुरु चढ्ययो । एक बर्ष लगाएर जर्मन भाषा सिकेको थिए ,भिजा नलागेको दिन खुब रोए । देश छोडेर जान नपाउदा रुने मूर्ख रहेछु म जस्तो लाग्छ आजभोलि । खिन्न मन बनाउदै म गाउँ फर्किएको थिए । घरमा आमा बुवाले धेरै सम्झाएपछि मात्रै मन अलि हल्का भयो । फेरि अप्लाइ गर्न घरमा मान्नुभएन । जसोतसो मनलाई सम्झाउदै म काठमाडौं फर्किए । यता आएर म कलेज भर्ना भए । कलेज सुरु हुन मात्रै लागेको अनि यो माहामारिले बिक्राल रुप लियो । फेरि गाउँ जान मन लागेन । अनि त्यसपछि त देशमा लकडाउन भयो , कतै जान पनि मिलेन । म काठमाडौं बस्न सुरु गरे देखि नै सानिमा सङ्ग बस्दै आएकि छु । सानिमाको एक छोरा अनि एक छोरी छन् । म काठमाडौं आउँदा बहिनी मात्रै ८ महिनाकी थि । भाइ चाहिँ भर्खर १ बर्षको भयो । बिशेष त बहिनी र म बीच धेरै माया छ । उ सङ्ग भएपछी मलाइ मेरि बहिनिको न्यास्रो लाग्न पाउदैन ।

आजभोली दिन यिनै भाइ बहिनिसङ्ग बित्छ । बेला मौकामा मात्रै खेल्न पाउने उनीहरुसङ्ग आजकल फुर्सदमा खेल्न र समय बिताउन पाएकी छु । कुनै दिन चित्र बनाउन ब्यस्त हुन्छु भने कुनै दिन चाहिँ युटुबको भिडियो हेरेर खाने कुरा बनाउन सिक्छौ । बहिनिले पनि खुशिसाथ सघाउछे । बहिनीलाई मायाले छोरी नै भनेर बोलाउने गर्छु म । भाइ सानू त छ तर हाम्रो खुशिमा सामेल हुन थालिसकेको छ । मायाले दुबै जनाले मलाइ पक्कु भनेर बोलाउछन् । आजकल म यहि शब्दमा खुशी भेट्टाउछु । अस्ति भर्खरै मात्र बहिनिको कलिलो जोश र मेरो इच्छा अनुरुप जेरि बनायौ । लामो समयको छुट्टीले गर्दा पढ्न खासै मन गर्दिन आजकल बहिनी । तेहि पनि फकाएर पढ्नचाहिँ लगाउछु। सानिमासङ्ग दिनहुुँ भलाकुसारी हुन थालेको छ । बेलाबेलामा दिज्जु कथा भन्दै आउछे बहिनी अनि म मेरि आमाले सानू हुँदा सुनाको कथामा आफ्ना शब्दहरु थपेर सुनाउने गर्छु । तेति नै बेला आमाको याद आउँछ अनि मन भावुक हुन पुग्छ । घरमा दिनहुुँ भिडियो कलबाट कुरा हुन्छ। काठमाडौं निकै सुनसान छ । बिहानीपख तरकारी किन्न पनि निस्किन्छु । लकडाउन कहिले खुल्छ होला भन्ने बिषयमा चोकतिर छलफल भैराखेको हुन्छ ।

अर्कोतिर जर्मनीको भिजा नलागेको पनि राम्रो नै भएछ जस्तो लाग्न थालेको छ आजकल , परिवारको छत्रछायामा त बस्न पाएको छु । अफ्ट्यारो परेको बेला सोध्ने छिमेकी छन् साथमा , जर्मनी भएको भए कहाँ यस्तो हुन्थ्यो र ! अनि ठिक तेति नै बेला आमाले भनेको कुरा याद आउँछ " जे हुन्छ राम्रोको लागि हुन्छ" । तेहिबेला बुबाले भनेको कुराले पनि मनमा वाण हान्न थाल्छ । वहाँ सधैं भन्ने गर्नुहुन्छ "स्वदेशमा जस्तो सुख अरु कुनै पनि देशमा पाइदैन "। आजकल बुबाको कुरा एकदम ठिक जस्तो लाग्छ । स्वदेश र बिदेशको फरक बारे बुवा र मेरो बेलाबेलामा वादविवाद परिरहन्छ । हिजोआज फोन गर्दा भन्ने गर्नुहुन्छ " जर्मनीको भिजा नलागेर कति राम्रो भएछ देखिस त छोरी ?" म हास्यास्पद पाराले हो भन्ने जवाफ दिन्छु ।

यहि समयमा मैले फोटोशप सिक्ने मौका पनि पाए । आफ्नो गीत गाउने इच्छालाई पनि मर्न दिएको छैन । बेलाबेलामा गुनगुनाउछु पनि । धुलो लागेर बसेका किताबहरुलाई दुई चार शब्द सिक्ने लोभमा अङ्गाल्ने गर्छु । अर्को संयोगको कुरा त के भयो भने यहि समयमा मैले "हेर्ने कथा " हेर्न सुरु गरे । आजभोली यिनै कथाका पात्रहरुको कथामा भुल्न थालेको छु । आफ्नै देशको पात्रहरुको कथा व्यथामा र स्वदेशको बसाईमा बिदेशलाइ बिर्सिने क्रममा छु । यिनै कुराहरुले कहिलेकाही निराश बनाउछ तर फेरि पछाडीको पक्कु भन्ने शब्दले मुहारमा खुशी ल्याइदिन्छ अनि बहिनिको भाडाकुटिको एउटा पात्र बनेर खेलमा समावेश हुन्छु । जर्मनी जाने सपना पूरा नभए पनि सपनामा कहिलेकाही जर्मनी पुगेको हुन्छु अनि आफ्नो सपना सम्झिदै आफैं सङ्ग हास्ने गर्छु ।

46 views0 comments
Post: Blog2_Post
bottom of page