आज दुईवर्षपछि मेक्सिकोको यो जेलबाट मुक्त हुने दिन । अब अमेरिका , मेक्सिको भागेर काम गर्ने जोश पनि छैन। त्यसैले अब घर फर्किएर उतै केही गर्ने सोचमा छु। राम्रो काम पाइन्छ, अनि पछि अमेरिकातिर पनि भाग्न पाइन्छ भनेर कन्सल्टेन्सिको अनेकौं प्रलोभन देखेर आफ्नो लोभी मन थाम्न नसकी, म मेक्सिकोसम्म आइपुगेँ। यहाँ आएपछि न त भाषा बुझियो न त काम नै राम्रो भेट्टाइयो। घरमा दुई जिउको अवस्थामा छोडेको श्रीमति ,आज छोरी नै चार बर्षकि भइसकिन। आमा , बुबालाई बुढेसकालमा खुशी राख्ने सपना लिएर अमेरिका भाग्ने कोशिश त गरेँ तर पुलिसको फन्दामा परेर बिजोग भयो। म संगै अरु थुप्रै नेपालीहरु पनि जेलमै छन् । भाग्यवश हामीलाई अमेरिका भाग भन्ने सल्लाह दिने मानिस भने बच्न सफल भयो। उ हामीलाई भेट्न जेलमा आउँथ्यो। उसकै कारणले गर्दा घरमा फोन गर्न पाउँथे। पछि उ पनि भाग्ने , भगाउने कामबाट दिक्क भएर अब सबै संगै नेपाल फर्किनुपर्छ भन्न थाल्यो। संयोगवश जेलबाट छुटेको केही महिनापछी नेपालमा दशैँ छ। चार बर्षदेखि मनाउन नपाएको दशैँ, यसपाली त जसरी पनि जान्छु भन्ने सोचमा छु। सम्पूर्ण कागजात मिलाएर अदालतमा पेश गरेपछी म संगका अरु थुप्रै नेपालीहरु पनि छुटे। म संगका अरु पाँच नेपाली , हामी सबैले केही महिनाको लागि भएपनी काम खोज्यौँ, अनि काम पायौं पनि। सबै मिल्ने साथी बन्यौँ पनि। दशैँ खर्च पुग्ने गरि पैसा पनि कमायौँ। भिजाको सम्पूर्ण कागजात मिलाएर हामी अब नेपाल फर्कने भयौं । एकचोटि पनि नदेखेको छोरीलाई सम्झेर नै मन फूर्तिलो भयो। उसको उचाई अनुमान गरेर कपडा र चकलेट किने । घर फर्किने दिन पनि आयो । काठमाडौँ अवतरण गरेपछि दशैँको निकै राम्रो चहलपल देखेंँ । मन निकै खुशी भयो। धेरै बर्षपछि यत्तिको रमाइलो देख्दा आखाँभरी खुशीको आँसु आए। जतिसक्दो चाँडै रात्रीबस खोजेर आफ्नो गाउँ बागलुङतिर लागे। घरी घरकाको लागि ल्याएको सामान राखेको झोला त कहिले बाहिरी दृश्यहरु अवलोकन गर्दै म रमाइरहेको थिएँं। कहिले घर आउला जस्तो लागिसकेको थियो । ठाउँ ठाउँमा दशैँको लागि हालिएको पिङ्ग देख्ता त झन दशैँले बोलाइरहेछ झैँ लाग्यो। रात्रीबस भित्रको रात काट्न मैले सकिन। बिहानीपख बागलुङ बजारमा बस रोकियो। सामान झार्दै बाग्लुङलाई नियाले। पहिला भन्दा केही बद्लिएछ। पुराना मानिस कोहि देखिन, सबै नयाँ मानिस मात्रै। अब आफ्नो घरतर्फ लम्किएँ। गाउँका मानिसहरुले देखेर "दशैँ मान्न आयौ कान्छा?" भन्दै सोधे । मैले हो भन्ने जवाफ दिएँ। बुढापाकालाई नमस्कार टक्रयाँए । घरको आँगनमा सानो पिङ अनि त्यही पिङमा रमाउदै गरेकी मेरी छोरीलाई मैले त चिनेँ तर उ भने अलि तर्किएर टाढा गई। सायद कहिल्यै नदेखेर होला। आमाको आँखाबाट आँसु झर्यो । श्रीमति केही बोल्न सकिन। साँझ परेपछि एकछिन राम्रो भलाकुसारी भयो। छोरीलाई भनि ल्याइदिएको कपडा र चकलेट दिएँ। उ बल्ल काखमा आएर बसिन्। सबैलाई परदेशको कोसेली बाँडे। सबैलाई अब बिदेश नजाने कुरा पनि बताएँ। आमा बुबाले पनि बल्ल बुढेसकाल आनन्दले बित्ने भयो भन्नुभयो। श्रीमतिको खुशी मैले अनुहारमा प्रष्ट देखिसकेको थिएँ। बल्ल मेरो घर अनि मनमा दशैँ आयो। धेरै बर्षपछि खुसिले भरिएको दशैँ थियो यो। धानका बाला , कोदो फुलेको बारी , रातो टीका अनि जमरा मन निकै प्रफुल्ल भयो । मन चङ्गा सरि उड्न खोज्या छ।
top of page
bottom of page
Комментарии