top of page
Search
Writer's picturePrakritee Dahal

स्वर्गमै बास भयो त?

दिउँसो अल्छी लागेको बेला यसो रेडियो बजाएँ। फेसबूक, युटुब हेर्न पनि खासै मन हुँदैन आजभोली, त्यसैले फेरि रेडियोप्रती सेलाइसकेको त्यो मायालाई आजभोलि प्रगाढ बनाउने कोशिसमा छु। दुई चार मिनेटको एफएम फेरबदलपछि एउटा मिठो गीतले मेरा हात रोके, मैले त्यसपछि अर्को एफएम लगाउन मन गरिन । रेडियोमा सानो स्वरमा गीत बज्दै थियो "मर्न बरु गाह्रो हुन्न"। गीत सुन्दै गर्दा मेरा आँखा कोठामा सजाइएको मेरो छोराको तस्बिरमा पुग्छ । गीतको शब्द अनि तस्बिरको छोराको त्यो मुस्कानले गर्दा कतिबेला आँखाबाट आँशु झरेर गाला भिजाएछ थाहै पाइन । छोरालाई सम्झिदै गर्दा म मेरि हुन नसकेकी बुहारीलाई पनि सम्झिन्छु । अब एकाएक मेरो मन र मस्तिष्क पुराना यादहरु ताजा गर्न लागि पर्छ।पछाडीबाट कसैले आमा भनेको जस्तो सुन्छु।हेर्दा त छोरा पो आमा भन्दै मलाई अगाँल्न आइपुग्छ । "आमा परिक्षा एकदमै राम्रो भएको छ " उसको अनुहारमा अर्कै खुशी थियो। छोरा भर्खर १२को परिक्षा सकेर घर आएको । मैले पनि मेरो छोराको परिक्षा कहिले नराम्रो भएको छ त भनेर गाला सुम्सुयाउँदै कोठातर्फ हात समातेर डोर्‍याएर लगेँ।

आमा छोराको एकछिन रमाइलो भलाकुसारी भयो। १२ पनि सकिस् बरु केटी पो पट्याईश कि छैनस ? आजभोली त गल्फ्रेन्ड भन्छन् क्यारे! छोराले हाँस्दै भन्छ "अलि राम्रो जन्माई दिएको भए त बनाउँथे होला नि" अनि मज्जाले हाँस्छ।मैले पनि ठट्टा गर्दै भन्छु बज्या आफू राम्रो भएर हिँड्न जान्दैन अनि मलाई पो भन्दो रछ! यतिकैमा सुमनको बुबा पनि अफिसबाट आउनुभयो।उसको टाउकोमा हात राख्दै " परिक्षा कस्तो भयो त छोरा ?"सोध्नुभयो । उत्तरमा राम्रो भयो भन्ने जवाफ दियो। ल बाउ छोरा कुरा गर्दै गर्नु म चाहिँ लागे भान्सातिर भनेर म आफ्नो कामतर्फ लागे।बाउ छोराको निकै रमाइलो तर छोटो भलाकुसारी भयो। त्यसपछी एकजना बाबू आएर " आन्टी सुमन आको छ रे हो?" सोध्यो।मैले भित्र छ जाउ न हेर भने। त्यसपछि सुमन र उसको साथी एकछिन घुमेर आउने भन्दै बाहिर निस्किए।काठमाडौंबाट लगाएर आएको लुगा पनि फेर्न नभ्याए जस्तो गरेर उ साथीसँग घुम्न निस्कियो।"सांँझ पर्नु अघिनै आइज है बाबू" मैले भान्साबाट नै चिच्याएँं।" बल्ल घर आको छ एकछिन निस्किन देउ न" उसको बुबाको ठाडै जवाफ आयो।म हाँस्दै फेरि कामतिर लाँगे।


छोरा खाना खाने बेलामा टुप्लुक्क आइपुग्छ । म पनि रिसाए जस्तो गरेर ए तेरो साँझ यती बेला नै पो पर्छ भन्छु।उसले जवाफ दिन्छ "साथिहरुसँग गफ गर्दा गर्दै कति बेला साँझ पर्यो थाहै भएन"।त्यसपछी सबै जनाले धेरै दिनपछी संगै बसेर खाना खायौँ। खाना खाएपछी तीनै जना सगैंँ बस्यौँ अनि उसको बुबाले सोध्नुभयो " अब के गर्ने विचार छ त छोरा?" उसको मुखबाट तुरुन्त जवाफ आयो "म अष्ट्रेलिया जान्छु बुबा ।" फेरि प्रश्न गर्नु भयो, विदेश नै जान्छस् त? मैले जसरी नै नेपालमा बसेर सरकारी जागिर खाएपनी हुन्थ्यो नि! उ हाँस्दै भन्छ , "अब कहाँ सरकारी जागिर खाएर बस्नु फेरि सबै साथी पनि विदेश नै जान्छु भन्दै छन् ।मैले पनि थपेँ भको तैंँ एउटा छोरा होस् फेरि त पनि विदेश जान्छु भन्छस् । उसले भन्यो पछी त आमा बुबालाई पनि लग्न मिल्छ अनि सबै मिलेर बसौंला नि! धेरै सम्झाएपछी पनि उसले विदेश जाने अडान लियो। मैले रिसाएको भावमा भनेँ "अष्ट्रेलिया जान पाए त मरेपछी स्वर्गमै पुग्छु जस्तो गर्छस् त छोरा! अनि सुमनको बुबा बोल्नुभयो "ल ल तेरो इच्छा विपरीत गएर हामी किन नराम्रो हुनु प्रयास गर् न त एकचोटी , बरु खर्च पो कति लाग्छ? सुमनले सबै कुराको वृतान्त बुबालाई सुनायो।"ठिकै छ अंशमा आएको जग्गा बेच्दा त खर्च टर्ने रहेछ"सुमनको बुवाले खर्चको हिसाब गर्नु भयो।अब सुमन खुशी भयो।करिब दश दिनको बसाई पछि उ काठमाडौं फर्किएर IELTS गर्ने भयो।दश दिन पनि बित्यो चाहिने खर्च बोकाएर हामिले उसलाई काठमाडौं पठायौँ । यसरी नै ६ महिना पनि बित्यो।एकदिन सधैं जसो गरि उसको फोने आयो।आमा भिजा लाग्यो नि।अब भोलि नै म घर आउदैँ छु।खुसीले मन कुन्ठित त थियो तर आँखा रसाइसकेका रहेछन् ।भोलिपल्ट साँझ छोरो घर आइपुग्यो।अबको एक महिनापछी छोरा अष्ट्रेलिया जाने भयो।घर आएपछी सबै तयारी भयो।" कहाँ बस्छस त पुग्ने बित्तिकै छोरा?"मैले सोधेँ।उसले भन्यो "साथी छ एअरपोर्टमा लिन आउँछु भनेको छ त्यसपछी हामी दुबै जना संगै बस्ने योजना छ।"अब छोरालाइ बिदा गर्ने दिन पनि नजिकिदै छ।मैले एकचोटी मेरो दिदिको घर गएर भेटघाट गर्ने बिचार व्यक्त गरेँ ।भेटघाट पछि हामी अब काठमाडौं जाने तयारिमा लाग्यौं ।हामी काठमाडौं लाग्यौं।काठमाडौं पुगेको भोलिपल्ट नै छोराको बिदाइ थियो।साँझको उडान थियो।बिहानबाट नै तिनै जना होटेलको एउटा कोठामा तयारी गर्न जुट्यौँ ।दिनभरिको तयारिपछी छोराले भन्यो,"तपाईंहरु नआत्तिनु फोनमा कुरा गरौंँला,पीर मान्नु पर्दैन ।"त चाहिँ केही पीर नलेन ,बरु राम्रो पढ् अनि काम गर्"उसको बुबाले भन्नुभयो।अब एअरपोर्टतर्फ लाग्यौं ,छुट्टीने बेलामा छोरालाई बेस्सरी अङ्गालेर रुन पुगेछु।छोराको आँखा पनि आँसुले टिल्पिलाएका थिए ।सुमनको बुबाले छोराबाट छुट्ट्याउनु भयो।त्यसपछी छोरा हाम्रो आँखाबाट ओझेल भयो।हामी भोलिपल्ट मात्रै गाउँ फर्कियौँ।गाउँ फर्किदै गर्दा बिदेशी नम्बर जस्तो देखिने नम्बरबाट फोन आयो।सुमनको बुबाले फोन उठाउनुभयो।"बुबा म पुगेँ"छोराको आवाज सुनियो।मैले हत्तपत्त फोन खोसेर प्रश्न गरेँ।"कतिबेला पुगिस अनि आरामले नै पुगिस् नि?" उसले हजुर भन्ने जवाफ दियो।"आमा अहिले सामान मिलाउदैँ छु पछि हजुरहरु घर पुगेपछी फोन गर्छु नि"छोराले फोन राख्यो। लामो यात्रा पश्चात् हामी छोरा बिदा गरेर गाउँ आइपुग्यौँ।हामी पुरानै दिनचर्यामा फर्कियौँ।एक दिन दुई दिन भन्दाभन्दै छोरा गएको पनि २ महिना पुगेछ।एकदिन भिडियो कलबाट छोराले भन्यो "आमा मैले काम पाँए,बिहान बेलुकी गरेर डबल सिफ्ट छ ,हप्ताको चार दिन कलेज छ,कलेज लागेको दिन चाहिँ बिहानको सिफ्टमा जाँदिन" उसले सबै कुरा बतायो। "साथी र म संगै बस्ने भएकोले गर्दा भाँडा अलि कम लाग्छ,मेरो केही चिन्ता नलिनु न सबै ठिक छ यता "उसले पुनः थप्यो।हामी पनि खुशी भयौँ।छोरा व्यवस्थित ढंगले बसे देखी घन्टौं कुरा हुन्छ ।म बेलाबेलामा कहिले आउँछस् त भनेर सोध्थे। उ "अब तीन चार बर्षपछि ,ब्याचलर सकेर मात्रै आउँछु"भन्थ्यो। समय पनि कति छिटो बितेको।हेर्दाहेर्दै चार बर्ष पनि पूरा भएछ। अब छोराले घर आउने कुरा गर्‍यो । मनको हरेक कुनामा खुशिका गुच्छाले हान्न थाले। केही दिनपछिको कुरा हो,पछाडीबाट "आमा" भन्ने शब्द सुनेँ।छोरो पहिलाजस्तै पछाडीबाट आमा भन्दै आइपुगेछ।खुशिको सीमा नै रहेन। हत्तपत्त उसलाई अङ्गाल्दै "तँ निकै दुब्लाएछस नि बाबु "भनेँ। उसले भन्यो "घरमा बसेर खाएजस्तो कहाँ हुने रहेछ त बिदेश्मा"।धेरै बर्ष पछि आएको छोरो मैले सकेसम्म धेरै परिकार अनि मिठो खाना बनाउने कोशिस गरेँ।चार बर्षपछि त बालक छोरो पनि तन्नेरी भएर जुगाँको रेखा प्रष्ट देखिन थालेछ।मैले जिस्क्याउँदै भनेँ "बुढो भएछस् त छोरा अब बिहे गर्ने बेला भएछ ।" उ हाँस्यो।मैले फेरि पुरानै प्रश्न दोर्हाएँ"कुनै केटी मन पराएको छस् कि छैनस्?" उसले उत्तर दियो "छैन नि! हजुरहरु नै खोज्नुस् अब।"सुमनको बुबा मज्जाले हाँस्नुभयो। बेलुकिको खाना खाएपछी एकाएक एउटा कुराको सम्झना आयो। दिदिले भोलि सुमनसङँ भेट पनि हुन्छ,सबैसंग गफगाफ पनि हुन्छ भनेर घर बोलाउनु भएको छ,खाना उतै खाउँला।"हुन्छ नि मलाई पनि दिदिलाइ भेट्न एकदम मन लागिरहेको छ" ,सुमनले भन्यो।मेरो दिदिको एकमात्र छोरी "काव्या" , "नेपाल ल क्याम्पसमा" तेस्रो बर्षमा पढ्छेे। उसले सुमनलाई खुब माया गर्छे।सुमन अष्ट्रेलिया जाने बेलामा काठमाडौं बाहिर जाने काम परेछ एअरपोर्ट आउन सकिन ।हामी भोलिपल्ट दिदीको घर पुग्यौं । सबै आफन्तहरुको रमाइलो जमघट थियो। हामी सबै संगै बसेर कुरा गर्दैथियौँ,तेति नै बेला एकजना सुमनभन्दा अलि सानो जस्तो देखिने नानी आएर "काव्या दिदी" भन्दै बोलाइन्।हामी कोठामा उपस्थित सबैको ध्यान तिनै नानितिर गयो।सरल कपडामा आएकी उनको हसाइँ एकदम राम्रो थियो। सुमनले पनि निकै मजाले हेरिरहेको थियो । त्यसपछि काव्या र ती नानी आफ्नो कामको छलफल गर्न बाहिर निस्किए।पछि काव्या आएर भनिन् "बहिनिको नाम किरण यसपाली १२को परिक्षा दिने पुरानो नोट लिन आएकी रहिछन्।" त्यसपछि काव्या र सुमनले "तपाईंहरु गफ गर्दै गर्नु हामी चाहिँ एकछिन बाहिर निस्किएर आउँछौंँ "भने।त्यसपछि हामी यता गफ गर्न थल्यौँ। मैले झ्यालबाट यसो चिहाएर हेरेँ। सुमन ,काव्या अनि अघि "काव्या दिदि भन्दै आउने नानी कुरा गरिरहेका रहेछन् ।म फेरि कोठामाा उपस्थित आफन्तसगँ कुरा गर्न तर्फ लागेँ । करिब आधा घन्टापछि काव्या आइपुगिन् अनि हतार गर्दै मैले सोधेँ "सुमन खै त?" उनले जवाफ दिइन् "किरणसगँ कुरा गर्दै छ।" अब मेरो मन साना सान शंकाका वाणहरुले छेद गर्न थाले। फेरि मन बुझाएँ कुरा मिल्न गएर पो यति लामो गफ भएको पनि त हुन सक्छ नि! अर्को आधा घन्टापछि सुमन आइपुग्यो ।अनुहारमा हांँसो लुकाउन खोज्दै "खाना पाक्यो?" उसले सोध्यो।मैले जिस्किएको भावमा भनें "कुराले पेट भरिएन र?" उ मुसुक्क हाँस्यो। बेलुकिको खाना खाएर हामी सुत्यौंँ।दिउंँसोको थकानले गर्दा होला त्यो दिन छिट्टै निन्द्रा लाग्यो।भोलिपल्ट बिहानको खाना खाएर सुमन फेरि काव्या दिदिको घर जाने भन्ने कुरा गर्न थाल्यो ।हामीले सहजै जान दियौं ।तर यो क्रम रोकिएन। कहिलेकाहिँ त उ उतै बस्न पनि थाल्यो । मनलाई प्रश्नको वेगले आतुर बनाउन थाले ।अन्ततः मैले दिदिलाई फोन गरेँ।

म: दिदी के छ खबर?

दिदी:ठिकै छ तेरो क छ?

म:मेरो पनि ठिक छ।सुमन के गर्दै छ?

दिदी:सुमन र काव्या त किरणको घर गएका छन्।आजकल दुबै जनाको बास नै त्यतै हुन्छ।

म:हुन्छ दिदी म फेरि पछि फोन गर्छु नि !

दिदी :हुन्छ।


अब मेरो मनको शंका यथार्थमा परिणत भयो।कतै सुमनले किरणलाई मन पराउन त थालेन?

एकदिन म पनि सुमनले थाहा नपाउने गरि पछि लागेर गएँ।त्यो दिन दुबै जनाको बाहिर भेट्ने सोच रहेछ। मैले टाढाबाट हेरेँ। भेट्नासाथ दुबै जनाले एकअर्कालाई अंकमाल गरे अनि हात समातेर नजिकैको रुखको छहारिमा बसेर कुरा गर्न थाले । अब आफ्नै आंँखाले सबै थोक देखेँ।अलि नजिक गएर कुरा पनि सुनेंँ।किरण भन्दै थिइन् "अब त तिम्रो जाने दिन पनि नजिकिदै छ,एकदम नराम्रो लागिरहेको छ सुमन।" सुमनले भन्यो, "केही महिना त हो त्यसपछि त हामी संगै भइहाल्छौँ नि, आत्तिएर हुँदैन नि माया "। किरणले फेरि सोधिन् "घरमा हाम्रो बारेमा कहिले भन्छौ नि?" सुमनले भन्यो, "अब एक दुई दिनमा भन्छु, तिमीले भनेउ त? उसले पनि एक दुई दिनमा भन्छु भनिन् । त्यसपछि दुबै नजिकैको रेस्टुरेन्टमा गएर खाजा खाए । म चाहिँ घरतिर लागेँ।मनमा अहिले भने खुशी छायो। छोरा खुशी रहेछ हामी बीचमा किन आउनु यस्तै कुरा सोच्दै म घर आइपुगेंँ र राती सुमनको बुबालाई सबै कुरा सुनाएँ।वहाँ हांँस्नु

भयो। दुईदिनपछि सुमनले हामी दुबै जनालाई बोलाएर आमा बुबा एउटा कुरा भन्नुथियो भन्यो ।हामीलाई लागिसकेको थियो उसले किरणको बारेमा भन्छ भन्नेबारे ।उ फेरि बोल्यो , "म किरणलाई एकदम मन पराउँछु अनि किरणले पनि मलाई एकदम मन पराउंँछिन्"। हामी हाँस्यौँ। मैले जिस्किदैँ सोधेँ अनि टाढा भएर बस्न सक्छौ त? उसले भन्यो"१२ पछि उ पनि तुरुन्तै प्रोसेस गर्छिन् नि,ढिलो भए पनि एक बर्षको त कुरा हो"। हामीले ल ठिकै छ तेरो इच्छा विपरीत कहिले गएका छौँ र भन्यौं । मैले चाहिँ किरणको परिवारलाई एकचोटि भेट्ने इच्छा व्यक्त गरेँ।त्यसपछि हामीले किरण र उसको परिवारलाई भेट्यौंँ । दुबै परिवारको सल्लाह अनुसार औंठि साट्ने कुरा निस्कियो। किरण सानै भएकोले गर्दा त्यहाँ उपस्थित दुई परिवार र दिदीको परिवारबीच मात्रै सानो औंठि साट्ने कार्यक्रम भयो ।हामी सबै निकै खुशी भयौं । विवाह चाहिँ केहि बर्षपछि मात्रै हुने सल्लाह भयो। अब सुमनको र किरणको खुशिको सिमा रहेन ।दुबै निकै खुशी देखिन्थे। बेलुकाको खाना किरणकोमा खाएर हामी घरतर्फ लाग्यौं। अब सुमनको जाने दिन पनि नजिकिदै थियो । काठमाडौं जाने अघिल्लो दिन किरण काव्या र दिदी पनि आउनुभयो । यसपाली पुर्याउन सुमनको बुबा मात्रै जानु हुने भयो । सबै तयारी सकियो । किरण र सुमनको मुख अलि मलिन थियो। अनि मेरो पनि ।अनि फेरि सबै जना मिलेर दुबैजनालाइ सम्झायौँ। भोलिपल्ट बस स्टेशनमा सबै भेला भएर सुमन र बुबालाई विदा गर्यौँ। किरणलाई फेरि पनि सम्झायौँ। त्यो दिनको पर्सि पल्ट सुमनको फ्लाइट थियो । एअरपोर्ट जानु अगाडि सबैसगँ भिडियोकल गर्‍यो । यसरी दोस्रोपल्ट सुमनलाई अष्ट्रेलियाको लागी बिदा गर्यौँं। उसको बुबा पनि लगत्तै गाउँ फर्किनु भयो। किरण कहिलेकाहींँ हाम्रो घर आउँछिन्। म उसलाई सुमनको सानुको कथा सुनाउँछु।उ खुबै रमाइलो मानेर सुन्छिन्। यसरी नै दिनहरू बित्दै थिए । अब किरणको १२को परिक्षा पनि सकियो । ऊनीपनि IELTS गर्न थालिन् । सबैकुरा राम्रै चल्दै थियो। एकदिन सदाजस्तो म घरमा बसेर टेलिभिजन हेरिरहेको थिएंँ। फोन बज्यो,सुमनको बुबा पनि घर आइपुगिसक्नु भएको थियो । वहाँले नै फोन उठाउनु भयो। फोनमा बोल्दा वहाँको अनुहार यस्तो भएको थियो कि मानौँ वहाँमाथी ठुलो बज्रपात भएजस्तो। फोनमा वहाँ एक शव्द पनि बोल्न सक्नुभएन। फोन राख्नासाथ मैले वहाँलाइ सोधेँ "के भयो?"वहाँले केहि नबोलेपछी मेरो मन झन् आत्तियो। वहाँ करिब १०मिनेटपछि बिस्तारै आँखाबाट आँसु खसाल्दै भन्नुभयो "सुमनको कार एक्सिडेन्ट् भयो रे,अस्पताल लग्दै छन् रे ।मेरो त जिन्दगी नै त्यहीँ रोकिए जस्तो लाग्यो । म केहि पनि बोल्न सकिन । सम्हालिनै नसकी म छेउको कुर्सीमा लड्खडाउंँदै अढेस लाग्न पुग्छु। अब सुमनको बुबा र म एकाअर्कालाई हेर्दै रुन थाल्छौँ। मैले सोधेँ "अवस्था कस्तो छ रे?"वहाँ केहि नबोली झन् रुन थाल्नुभयो। एकैछिन पछि दिदी ,भिनाजु ,काव्या अनि किरण सबै जना घर आइपुग्नुभयो। सबैको अनुहार मलिन थियो । किरण त झन रुंँदै थिइन। काव्याले खबर ल्याइन्"अस्पतालमा भेन्टिलेटरमा राखेको छ रे ,के हुने हो भोलि मात्र थाहा हुन्छ रे ।" साँझ दिदिले नै खाना पकाउनु भयो तर कसैले खाना खाएन। किरणलाई छेउमा बोलाएर राखेँ । दुबै जना अंगालो हालेर खुब रोयौँ। त्यो रात पिडापुर्ण रोदन र आसुँको आगमनले नै बित्यो । बिहानिले केहि सुखद समाचार ल्याउँछ कि भन्ने आशमा थियौं । बिहान पनि कसैलाई केहि खान मन भएन। पानीको भरमा हामी बस्दै थियौं ।त्यतिकैमा फोन आयो हामी सबैको कान ठाडा भए । यसपालि सुमनको बुबा फोन उठाउने स्थितिमा हुनुन्नथियो। फभिनाजुले उठाउनु भयो । वहाँ बाहिर गएर बोल्नु भयो । फोनमा बोलिसकेर भित्र आउनुभयो । वहाँ केहि बोल्नुभएन कसैलाई केहि सोध्ने हिम्मत पनि भएन । एकछिन पछि भिनाजुले मलाई हेर्दै भन्नुभयो "लक्ष्मी सुमन अब हामी बीच रहेन "।कोठा भरी रुवाबासी चल्न थाल्यो। कसैले कसैलाई सम्हाल्न सक्ने स्थिति थिएन । अन्तिममा छोरासंग बोल्न पनि पाइन भन्दै डाको छोडेर रुन थालेँ। त्यसपछि फेरि भिनाजुले भन्नुभयो "अब हामी सबै काठमाडौं जाने तयारी गर्नु पर्छ यसरी रोएर हुँदैन अब,उसको साथीहरू मिलेर पर्सि सुमनको शरीरलाई पठाउँदै छन् ,यति लामो बाटो ल्याउनु भन्दा त अन्त्यसटि उतै गरौं ।" म सम्हालिन नसकी फेरि बेस्सरी रोएँ। त्यसको दुई दिनपछि हामी काठमाडौं पुग्यौं। किरण पनि हामी संगै थिइन् ।एअरपोर्टको कार्गोबाट सुमनको शरीर लिएर हामी पशुपति आर्यघाटतर्फ लाग्यौं । म भने बाकसमा हेर्दै रुदै गर्न थालेँ।सबैले सम्झाउदै संसारको रित यस्तै हो भन्नुभयो । आर्यघाट पुगेर छोराको मुख हेरेँ अनि अंगाल्दै रोएँ।एकछिन होश गुमाउन पुगेछु,बिउँझिदा त सबै वरिपरि भएर उठाउन खोज्दै हुनुन्थ्यो। फेरि छोरालाई हेरेँ उठेर बोल्छ कि झैँ लाग्यो। अब सबै तयारी भएपछी छोरालाई बाउले आगो दिनुभयो। हात कमाउँदै आगो दिएको क्षण म कहिले पनि बिर्सिन्न।सबै काम सकेर हामी सिधै घर गयौं । अरु काम घरमै गर्यौँ। अब घरमा म,सुमनको बुबा र सुमनको सम्झना मात्रै थियो। हप्ता हप्तामा दिदी भिनाजु भेट्न आउनुहुन्थ्यो। काव्या काठमाडौं गएर पढाईलाई निरन्तरता दिन थालिन्। अनि किरणले पनि नेपालमै ब्यचलर पढ्न थालिन् । कहिलेकाहिँ किरण आउँछिन् अनि हामी बसेर निकै बेर रुन्छौँ।मैले उसलाई सम्झाउँदै भने "अब तिमि आफ्नो जिन्दगीमा अगाडि बढ्नुपर्छ"। उसले कोसिस गर्दै छु आन्टि भनिन्। यसरी नै कहिले रोदनले त कहिले पिडाले छट्पटीएर दिन बित्न थाले।रेडियोको गीत पनि सकिएछ, दिमाग बर्तमानमा आएर अडियो। मन भने सुमनको सम्झनामा नै थियो ,छ अनि भैरहने छ। यतिबेला म, मैले सुमनलाइ भनेको कुरा सम्झिन्छु "अष्ट्रेलिया पुगेर के मेरो छोराको स्वर्गमै बास भयो त?"


308 views2 comments

2 Comments


aseemknwr
Jul 29, 2020

Loved it..keep going😍

Like

ghimireanjila17
Jul 29, 2020

Ekdamai ramro lagyo prakriti

Keep it up ❤️

Like
Post: Blog2_Post
bottom of page